हार्दिक आव्हान

सूचनाको हक मानिसको जन्मसिद्ध हक हो । जनताले तिरेको करबाट चल्ने सार्वजनिक निकायहरूमा रहेका तथा रहनुपर्ने सूचनामा नागरिकको सहज तथा स्वतः पहँुचनै सूचनाको हकको आधार होे । स्वतः सूचना उपलब्ध नहुँदा सूचना माग, खोजी, प्राप्ति र प्रवाहमा विना अवरोध नागरिकको पहुँच स्थापित हुनुनै सूचनाको हक प्रत्याभुत हुनु हो ।

हरेक अंग्रजी वर्षको २८ सेप्टेम्बरको दिन विश्वभरनै सूचनाको हक दिवस मनाउने गरिएको छ । यस दिवस तथा अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिबृद्धि गर्ने, शासकिय मामिलामा नागरिकका सरोकारबारे प्रश्न गर्ने, उत्तर खोज्ने तथा पारदर्शी जवाफदेही र उत्तरदायी शासन प्रणाली तथा समाज निर्माण गर्न सूचनाको स्वतः खुलासाका लागि सबै सार्वजनिक निकाय उपर दवाब सिर्जना गर्ने तथा सार्वजनिक निकायमा सूचना माग गर्ने हो ।

यस पटकको सूचनाको हकको अन्तराष्ट्रिय दिवसलाई फ्रिडम फोरमले अन्य नागरिक संघ संस्थासंग सहकार्य गर्दे अंगे्रजी बर्षको सेप्टेम्बर महिनाभरनै सूचनाको हक विशेष महिना (RTI Month)  का रुपमा मनाउने निधो गरेको छ । यसै सन्दर्भ तथा अवसरमा हामी सम्पुर्ण सूचनाको हकप्रेमी, खुलापन तथा उत्तरदायीपनाका पक्षपाती हरेक नागरिक तथा नागरिक संघ–संस्थाहरुलाई यो महिनाभर कमसेकम निम्न कुरामा सामेल भई सचेत नागरिकको दायित्व निर्वाहका लागि हार्दीक आव्हान गर्दछौ ।

1.  सूचनाको हकसम्बन्धि सार्वजनिक निकायको स्वतःसूचना प्रकाशन लगायतका दायित्व पालना गर्न सम्झाऔ ।
2. नागरिक तथा सार्वजनिक सरोकारका विषयमा सूचना मागौ, प्रश्न गरौ तथा उत्तर खोजौ ।
3. सूचना खोज्ने सूचना मागकर्ताहरुलाई सहयोग गरौ ।
4.  सूचनाको हकबारे नागरिक चेतना अभिबृद्धि गर्न सघाँऊ तथा सबैलाई यो अभियानमा सामेल हुन आव्हान गरौ ।
5. पारदर्शी, जवाफदेही र उत्तरदायी शासन प्रणाली तथा समाज निर्माण गर्न सबै तह तप्कामा रहेका सार्वजनिक निकायलाई सूचनाको हक सिर्जीत दायित्व पालना गर्न सम्झाऔ, पालना भए नभएको नागरिक अनुगमन गरौ ।