विपुल पोख्रेल

सुशासनका क्षेत्रमा काम गर्ने अभियन्ताहरूको चोटिलो र साझा धारणा रहने गर्छ— भ्रष्टहरूमा न इमानदारी हुन्छ, न त राष्ट्रियता नै । यो भनाइले कसैको मन त घोच्छ होला, तर यसको प्रतिवाद गर्ने आँट कसैको हुँदैन । मानिसको आँटको जग भनेकै इमानदारी हो । त्यही नै नभएकाहरूले प्रतिवादको आँट गर्न सक्ने कुरा पनि भएन । त्यो प्रवृत्तिको अर्को विशेषता पनि हुने गर्छ, उनीहरू प्रतिवाद त गर्दैनन्, तर आफूलाई सही साबित गर्न गलत उपाय अपनाउँछन् । यो भ्रष्टाचारमा मुछिएकाहरूको आमप्रवृत्ति हो ।

शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफूअनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ ।

यस्ता प्रवृत्तिको शिकार हुने वर्ग भनेको पत्रकार नै हो । पत्रकारहरूले भ्रष्टाचारको विषय सार्वजनिक गर्दा ती घटनामा संलग्न पात्रहरूको छटपटी देखिन्छ । त्यसपछि उनीहरू धाक, धम्की, आक्रमण हुँदै प्रलोभन दिने अवस्थासम्म पुग्छन् । उनीहरूले के भुलिरहेका हुन्छन् भने, त्यस्ता समाचार कुनै एक व्यक्तिविरुद्ध नभएर भ्रष्टाचारविरुद्धको प्रहारका रूपमा सार्वजनिक गरिएका हुन्छन् । त्यसैगरी धम्की, धाक, आक्रमण, प्रलोभन केहीबाट पछि हट्नेछैन भन्ने आत्मविश्वाससाथ नै पत्रिकाहरूले त्यस्ता समाचारहरूमा हात हालेका हुन्छन् र यथेष्ट प्रमाणसहित भ्रष्टाचारका विषय उठाइएका हुन्छन् । केही अपवादलाई छाड्ने हो भने नेपाली पत्रकारिताले आफूलाई यो ढंगको रिपोर्टिङ गर्ने अवस्थामा पु¥याउँदै छ । भ्रष्टाचारको नालीबेली खोतल्ने यो यात्रामा पत्रकारिताले विश्वसनीयता पनि बढाउँदै गएको छ ।

नेपालको पत्रकारिता पनि भ्रष्टाचारको सन्दर्भमा निर्ममतासाथ प्रस्तुत भइरहेको छ । गाउँको कुलो उपभोक्ता समितिमा भएका भ्रष्टाचारदेखि राष्ट्रलाई टाट पल्टाउने ढंगले देखिन थालेका भ्रष्ट प्रवृत्तिलाई नेपाली पत्रकारिताले आफ्नो चासोको विषय बनाएको छ । एनसेल प्रकरणदेखि आयल निगमको जग्गा खरिद प्रकरणसम्म आइपुग्दा नेपाली मिडियाले आफ्नो प्रभावलाई बलियो रूपमा उठाउन सकेको छ । आयल निगमको जग्गा प्रकरणको विषयमा शृंखलाबद्ध अनुसन्धानात्मक रिपोर्टिङ भइरहँदा त्यो प्रकरणमा मुछिएका प्रबन्ध निर्देशकले समाचार लेख्ने पत्रकार दीलिप पौडेल र समाचार छाप्ने पत्रिका नागरिक दैनिकलाई मुद्दा लगाएका छन् । नागरिक पत्रिका केही महिनायता नागरिक समाजको खास प्रवक्ता बनेर अनियमितता, भ्रष्टाचारमा प्रश्न उठाइरहेको छ ।
नागरिक पत्रिकाले डेढ अर्बको कारोबार गर्दा ६७ करोड घोटाला भएको तथ्य बाहिर ल्याएको थियो । त्यस प्रकरणमा सार्वभौम संसद्का विभिन्न समितिहरूले पनि गहिरो अध्ययन गरी कारबाहीका लागि सिफारिससमेत गरेका छन् । अख्तियारको चासो यो प्रकरणमा तानिनु स्वाभाविक हो । यति गहिरिएर अनुसन्धान भइरहेको विषयमा आफ्नो पक्षमा यथेष्ट प्रमाण संकलन गर्नुपर्ने पात्र ‘मेरो मानहानि भयो’ भन्दै सम्मानित अदालतसमक्ष पुगेका छन् । अदालत जाने उनको अधिकारको हरेक विधिको शासन मान्नेहरूले सम्मान गर्छन् नै । तर, उनी अदालत पुगेर मूल मुद्दालाई अर्को मोड दिएर आफू जोगिन चाहेको मनसाय प्रस्ट हुन्छ । सम्मानित अदालतले यो विषयमा फैसला दिने नै छ ।

आयल निगमको जग्गा खरिद प्रकरणमा सार्वभौम संसद्का समितिहरूमा सांसदहरूले छलफल गरे । कारबाहीका लागि सिफारिससमेत भयो । सार्वजनिक बहसको विषय पनि हो, यो । तर, आक्रमणको निशाना पत्रकार र पत्रिका हुन पुग्यो । पत्रकारिताको संवेदनशीलता र प्रभावकारिता कति भन्ने यो कुराले पनि पुष्टि गरिदिएको छ । शासकहरू, शक्ति केन्द्रहरू र समाजमा गलत काम गर्नेहरूको तारो सधैँ पत्रकारिता नै हुने गर्छ । राजा ज्ञानेन्द्रको महत्वाकांक्षा चुलिँदा पनि पहिलो तारो मिडिया नै बन्यो । आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का समाजमा लाजमर्दो अवस्थाको सामना गर्न पुग्दा उनको तारो पनि मिडिया नै बन्यो । शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफ्नो अनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ । तर, मिडियाले यस्तै बेलामा नागरिकको पक्षमा उभिएर आफ्नो औचित्य, आवश्यकता, प्रभावकारिता र खबरदारी गर्ने आफ्नो मौलिक चरित्रको निरन्तरतालाई प्रदर्शित गरिराख्छ ।
अनुसन्धानात्मक रिपोर्टिङका माध्यमबाट देशभित्रका अनियमिता, भ्रष्टाचारजस्ता विषयलाई सार्वजनिक गर्दै खबरदारी गर्ने नेपाली पत्रकारिताको विशिष्ट चरित्र हो । पत्रकारिताको यो विशिष्ट चरित्रअनुसार नेपाली पत्रकारहरू क्रियाशील छन् र आमसञ्चारका माध्यमहरूले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्दै यस्ता सवालहरूलाई उजागर गर्दै आएका छन् । यसैकारण भ्रष्टाचारका पुलिन्दाहरू एकपछि अर्को खुल्दै गएका छन् र राज्यलाई भ्रष्टाचारविरुद्ध प्रस्तुत हुनका लागि आत्मविश्वास बढाउन मद्दत पुगिरहेको छ ।

भ्रष्टाचारको जालो नराम्रोसँग फैलिएको हुन्छ । यसलाई पूर्णरूपमा हटाउन गाह्रो नै हुन्छ । देशमा ०४६ को परिवर्तनपछिको पहिलो जननिर्वाचित सरकारमा कृषिमन्त्री रहेकी नेतृ शैलजा आचार्यले ‘भ्रष्टाचारको जालो फ्याँक्न’ हिम्मत गरिन्, तर ‘एक्लै सम्भव नहुने’ निष्कर्षसाथ राजीनामा दिइन् । ०५७ सालमा जलस्रोत मन्त्री बनेका बलदेव शर्मा मजगैयाँले पनि ‘भ्रष्टाचारको साक्षी नबन्ने’ निष्कर्षसाथ राजीनामा दिएका थिए । भर्खरै प्रकाशित पत्रकार हरिबहादुर थापाको ‘रजगज’ नामक पुस्तकले त भ्रष्टाचार कसरी जेलिएको छ भन्ने कुरालाई छताछुल्ल पारिदिएको छ । भ्रष्टाचारको जालो कहाँसम्म पुग्छ भन्ने कुराको अनुमान सायदै कसैले गर्न सक्ला । अदालतलाई समेत उपयोग गर्ने तहसम्म यो जालो पुग्छ भन्ने पनि देखिन्छ, बेलाबेलामा । नागरिक दैनिक र त्यसका पत्रकारमाथिको मुद्दाले त्यो मनसाय प्रस्ट रूपमा देखिएको छ । सम्मानित अदालतमा दर्ता भएको सो मुद्दाबारे अदालतले टुंगो लगाउने नै छ । अदालतले नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र अनुसन्धानात्मक पत्रकारिताको चरित्रलाई सुरक्षित गर्ने गरी फैसला गर्ने विश्वास पत्रकार महासंघले लिएको उसको विज्ञप्तिमा उल्लेख छ । यो विश्वास आमपत्रकार, विधिको शासनका पक्षपाती र लोकतन्त्रका पक्षधर सबैमा रहेको छ ।
मिडियाका आफ्ना समस्या छन्, चुनौती पनि प्रशस्तै छन् । ती समस्याको सम्बोधन र चुनौतीको सामना गर्न सक्ने गरी पत्रकारितालाई उचाइ दिनुपर्ने अवस्था छँदै छ । यस विषयमा प्रशस्त बहस पनि भइरहेका छन् । यसका लागि काम पनि नभएका होइनन् । पेसागत सुरक्षा र श्रमको सम्मानको अनुभूति गर्न नसकिरहेका पत्रकारहरूको प्रयासबाट पनि नेपाली पत्रकारिता आलोचनात्मक चरित्र जोगाउँदै एउटा चोटिलो झापट दिनसक्ने अवस्थामा रहेको छ । नागरिक समाजको प्रवक्ताका रूपमा पत्रकारिताले राज्यको खबरदारी गरिरहेको छ । पत्रकारहरूले पेसागत सुरक्षाको अनुभूति गर्न पाए, श्रमको सम्मान भएको महसुस गरे अनि श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको अवस्था बन्यो भने त्यसले नेपाली पत्रकारितालाई अझ बलियो बनाउने कुरामा दुईमत रहँदैन ।
अहिले नेपाली पत्रकारिता ‘इमानदारी र राष्ट्रियता नै नहुने’ वर्ग र भ्रष्ट प्रवृत्तिविरुद्ध खरो रूपमा उत्रँदै अगाडि बढिरहेको महसुस आम नागरिकहरूलाई भइरहेको छ । यसले पत्रकारिताप्रतिको विश्वसनीयतालाई पनि बढावा दिइरहेको छ । पत्रकारिता प्रभावकारी हुँदै गर्दा र नागरिकहरूमा विश्वास चुलिँदै गर्दा त्यसबाट शासकहरू तथा भ्रष्टहरू स्वभावतः तर्सन्छन् । उनीहरूको त्रस्त मानसिकताले पत्रकारिताको स्वतन्त्रताको दायरालाई खुम्च्याउन र आर्थिक रूपमा संकट उत्पन्न गराउन विभिन्न खाले षड्यन्त्रका तानाबाना पनि बुनिन सक्छन् । यो पक्षलाई पत्रकारहरूका संस्थाले विशेष ध्यान पु¥याउनुपर्छ नै । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ यो विषयमा गम्भीरतासाथ प्रस्तुत हुने नै छ । पत्रकार महासंघले नागरिक पत्रिका र त्यसका पत्रकारको मुख थुन्ने र उनीहरूलाई आर्थिक भार थपिन्छ भनेर त्रस्त बनाउने मनसायले दर्ता भएको मुद्दाका सन्दर्भमा आफ्नो धारणा राख्दै गर्दा भनेको छ, ‘प्रेस स्वतन्त्रता, हाम्रो आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भीकतापूर्वक खोजी पत्रकारितामा दृढतापूर्वक लागिरहन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरूलाई आह्वान गर्छ ।’ यो आह्वान पत्रकारहरूको मनोबल उचो राख्न महत्वपूर्ण आधार बनेको छ । पत्रकारितालाई बलियो बनाउन पत्रकारहरूको मनोबल उचो हुनुपर्छ । उनीहरूको आत्मबल उँचो राख्न पत्रकार महासंघले सबै प्रकारका काम र दायित्व निर्वाह गर्दै जानुपर्छ र जाने पनि छ ।

Source: Nagarik Daily
September 7, 2017