राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर फ्रिडम फोरमको अगुवाइमा गत भदौ ४ गते मुलुकभरका ७५३ (पहिले ७४४ र पछि प्रदेश नं. २ मा थपिएका नौसहित) स्थानीय तहमा सूचना माग गरिएकोमा हालसम्म १८५ स्थानीय तहबाट सूचना प्राप्त भएको छ ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, महासचिव झर्मेन्द्र झा, कोषाध्यक्ष केदार दाहालल सदस्य राममाया लामिछाने, कार्यकारी प्रमुख तारानाथ दाहाल, कार्यक्रम संयोजक सञ्जिव घिमिरेलगायतका तर्फबाट मागिएका उक्त सूचना अध्ययन गर्दा १८ बुँदामा मागिएका सबै प्रश्नहरूको उत्तर समेटिएको छ ।

पहिलो चरणमा स्थानीय तहका सूचना अधिकारीलाई सम्बोधन गरी सूचना मागिएको र उनीहरूले सूचना उपलब्ध नगराएपछि कार्यालय प्रमुखलाई उजुरी गरिएको थियो । उजुरी पश्चात ती कार्यालयका तर्फबाट कार्यकारी प्रमुखले सूचना उपलब्ध गराएका छन् । हरेक कार्यालयको सूचना हेर्दा सूचना अधिकारी तोकिएको उल्लेख भए पनि सूचना अधिकारीकातर्फबाट भने सूचना उपलब्ध गराइएको छैन ।

बाँकी कार्यालयहरूमा पछिल्लो पटक टेलिफोनमार्फत सम्पर्क भइरहेको छ । सम्पर्क भएका कार्यालयका सूचना अधिारीहरूले मुलुकमा हालै सम्पन्न तीन तहको निर्वाचनका कारण ऐनले तोकिएको समयमा सूचना उपलब्ध गराउन नसकेको र अब तत्काल सूचना उपलब्ध गराउने बताएका छन् । अहिले ती कार्यालयका नाममा हालै राष्ट्रिय सूचना आयोगमा एकमूष्ठ उजुरीसमेत दर्ता गराइएको छ ।

नागरिक तथा स्थानीय सरकारबीच एक–आपसमा विश्वासिलो र रचनात्मक सहभागिताको वातावरण निर्माण गर्न, सुशासन प्रवद्र्धन गर्न र विकास तथा सुशासनका लागि सूचनाको हकको महत्वबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी दिने उद्देश्यले सूचना माग गरिएको हो ।

हालसम्म सूचना उपलब्ध गराउने  स्थानीय तहको विवरणका लागि यहाँ क्लिक गर्नुहोस् – https://freedomforum.org.np/content/publications/reports/