प्रेस विज्ञप्ति

मिति : २०७९/०७/१५

प्रेस काउन्सिल नेपालको चरम दुरुपयोग, राज्यका निकायबाट प्रेस स्वतन्त्रतामाथि धावा

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको हक विरुद्ध चरम दुरुपयोग भएकोमा फ्रिडम फोरमको गम्भिर ध्यानाकर्षण भएको छ । मिडियाका विषयवस्तु अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले फेरी पनि एक राष्ट्रिय दैनिकलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबारे किन कार्टुन प्रकाशन गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसहिंता र पत्रकार आचारसंहिताको कारण देखाउँदै काउन्सिलले ‘यस्तो कार्टुन किन प्रकाशन गरेको हो ?’ भनी स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा गत कार्तिक ३ गते ‘कल केपी बा’ शीर्षकमा कार्टुन प्रकाशन गरेको थियो । कार्टुन व्यङ्ग्यात्मक अभिव्यक्तिको कलात्मक प्रस्तुति हो । तर, काउन्सिलले राजनीतिक रुपमा प्रेरित भएर विज्ञप्ति जारी गरी स्पष्टीकरण सोधेको छ, जुन नेपालको संवैधानिक अधिकारको विरुद्ध छ ।

नेपालको संविधानले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । तर, काउन्सिलको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । यसले नेपाली मिडिया र पत्रकारको भूमिकालाई अवमूल्यन गरेको छ, होच्याएको छ ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल भन्नुहुन्छ– ‘कार्टुन प्रकाशन गरेबापत नागरिक दैनिकलाई स्पष्टीकरण सोध्नु राज्यको निकाय प्रेस काउन्सिलको चरम दुरुपयोग हो । यसले नेपाली नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ । राजनीतिक अनियमितता र भ्रष्टाचारका घटनाविरुद्ध खबरदारी गर्ने र खुलासा गर्ने नेपाली पत्रकार र मिडियाको सक्रियता र ऊर्जालाई काउन्सिलको पक्षले अवमूल्यन गरेको छ । यसले राज्यका निकायप्रति जनविश्वास घटेर जानेछ । प्रेस काउन्सिलले स्वनियमनको अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा यस्ता मिडिया विरोधी दमनकारी कार्य तुरुन्त बन्द गर्नुपर्छ ।’

कार्यकारी प्रमुख
तारानाथ दाहाल