फ्रिडम फोरम लगायत २० वटा डिजिटल अधिकार तथा प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले संयुक्त विज्ञप्ति मार्फत आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा भौतिक सुरक्षा र साइबर सुरक्षा सुनिश्चित गरि मिथ्या सूचनामुक्त स्वतन्त्र तथा निष्पक्ष निर्वाचन बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
२०८२ माघ २४ गते (शनिबार) विज्ञप्ति जारी गर्दे संस्थाहरुले, नागरिक समाज संस्था, सञ्जाल तथा अभियन्ताहरु यस अभियानमा पूर्ण रुपमा प्रतिबद्ध रहेको कुरा समेत स्पष्ट पारेका छन् ।
प्रेस विज्ञप्ति
साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती
२०८२/१०/२४
काठमाडौँ ।
हामी लोकतन्त्र, प्रेस स्वतन्त्रता र डिजीटल अधिकारको प्रर्वद्धनमा क्रियाशील संस्थाहरु नेपालमा हुन गइरेहको आगामी निर्वाचनको सन्दर्भमा साइबर सुरक्षा तथा मिथ्या र भ्रामक सूचनाको बढ्दो जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं । निर्वाचनअघिको समग्र अवस्था नै क्रमशः चिन्ताजनक बन्दै गएको छ र विशेष गरी निर्वाचन अघिका तीन दिन अत्यन्तै संवेदनशील हुने हाम्रो निष्कर्ष छ ।
स्वतन्त्र तथा निष्पक्ष निर्वाचनले भौतिक मतदान प्रक्रियाको सुरक्षा मात्र नभइ मिथ्या सूचना, दुष्प्रचार र सूचना हेरफेरबाट मुक्त सूचना वातावरणको सुनिश्चितता पनि जनाउँछ । यस संवेदनशील अवधिमा योजनाबद्ध रुपमा फैलाइने मिथ्या सूचना र दुष्प्रचारले निर्वाचनको विश्वसनियता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा अपूरणीय क्षति पु¥याउन सक्ने जोखिम अत्यन्तै उच्च छ । साथै, नेपालको निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ का रुपमा प्रयोग गर्न सकिने सम्भावनाप्रति पनि हामी गम्भीर रुपमा सचेत गराउन चाहन्छौं ।
हाम्रो छलफल तथा विश्लेषणका क्रममा निर्वाचन आयोग (ECN) तथा केही नागरिक समाज संस्थाहरु मिथ्या सूचना पहिचान र विष्लेषणमा सक्षम र प्रतिबद्ध देखिए पनि, समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र यस गम्भीर चुनौतीप्रति पर्याप्त रुपमा सक्रिय हुन नसकेकोप्रति हामी चिन्तित छौं ।
यस सन्दर्भमा हाम्रो विश्लेषण र सुझाव निम्नानुसार छन् :-
- मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सूचना तथा सचेतना अभियानहरु तत्काल तीव्रताका साथ सुरु गरिनु आवश्यक छ ।
- मिथ्या सूचना र दुष्प्रचारका सङ्गठित अभियानहरुको प्रभावकारी सामना गर्न सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाज संस्थाहरुबिच प्रभावकारी समन्वय र संस्थागत प्रयास अपरिहार्य छ । यसका लागि सम्पादक तथा पत्रकारहरुका लागि ‘‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्नुका साथै, मिडिया हाउसहरुबीच सहकार्य गरी सार्वजनिक रुपमा मिथ्या तथा भ्रामक सूचना र दुष्प्रचारको द्रुत तथा तथ्यमा आधारित खण्डन गर्ने प्रणाली तत्काल निमार्ण गरिनुपर्छ ।
- डिजिटल युगमा निर्वाचनका बेला साइबर सुरक्षाले सार्वजनिक विश्वास, समाजिक सद्भाव र लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो विषय अब केवल प्राविधिक तहमा सीमित नरही राष्ट्रिय सुरक्षाको गम्भीर मुद्दा बनेको छ । तसर्थ, नेपाल सरकारले नेपाल प्रहरीको साइबर ब्युरोलाई तत्काल पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउनु आवश्यक छ ।
- सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरुले जनमत निर्याणमा उल्लेखनीय प्रभाव पार्ने भएकाले, निर्वाचन आयोग र नागरिक समाजले उनीहरुलाई जिम्मेवार सूचना प्रवाहका लागि सचेत गराउनुका साथै उनीहरुलाई उत्तरदायी बनाउने स्पष्ट र पारदर्शी पहल गर्नुपर्छ ।
- अन्र्तराष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरु र त्यसमा पनि विशेष गरी नेपालमा व्यापक प्रयोगमा रहेका मेटा र टिकटक लगायतका प्लेटफर्मसँग निर्वाचन आयोगले तत्काल समन्वय गरी मिथ्या तथा भ्रामक सामग्री पहिचान र नियन्त्रणमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ ।
- छापा तथा अनलाइन मिडियाका प्रकाशक र सम्पादकहरुले ‘अनफलो क्याम्पेन’ लगायतका दबाब, धम्की वा भयका कारण स्वनियन्त्रण (sel-censorship) अभ्यास गर्नु उचित हुँदैन । यस्तो स्वनियन्त्रण पत्रकारिताको आधारभू्त मूल्य, व्यावसायिक आचारसंहिता र लोकतान्त्रिक जिम्मेवारीबाट पन्छिनु सरह हो ।
नेपालको लोकतान्त्रिक प्रक्रियाको विश्वसनियता सुरक्षित मतपेटिकाले मात्र नभई सही, तथ्यपरक र सचेत सूचनामा आधारित जनमतले निर्धारण गर्छ । यस पहलको नेतृत्व निर्वाचन आयोगले गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ र उक्त प्रक्रियालाई सशक्त रुपमा सघाउन तथा विस्तार गर्न नागरिक समाज संस्था, सञ्जाल तथा अभियान्ताहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छौं ।
सरोकारलावा संस्था तथा सञ्जालहरु
१ डिजिटल राइट्स नेपाल
२ डिग्निटी इनिसियटिभ
३ सेन्टर फर मिडिया रिसर्च - नेपाल
४ फ्रिडम फोरम, नेपाल
५ ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर)
६ मिडिया एड्भोकेसी ग्रुप (म्याग)
७ चाइल्डसेफनेट
८ डिजीटल मिडिया फाउन्डेसन
९ मिडिया एक्सन नेपाल
१० ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर
११ बडी एन्ड डाटा
१२ पर्पल फाउन्डेसन
१३ नेपाल इन्टरनेट फाउन्डेसन
१४ नेपाल मतदाता अधिकार मञ्च
१५ द स्टोरी किचेन
१६ युथ इनोभेसन ल्याब
१७ नागरिक आवाज
१८ नेपाल शान्ति संस्था
१९ वुमन लीडर्स इन टेक्नोलोजी
२० अकाउन्टविलिटि ल्याब नेपाल