Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

स्वतन्त्र प्रेसका समस्या  किशोर नेपाल पत्रकारहरूका सबै संघसंस्था विभाजित पार्टीमुखी भएको अहिलेको अवस्थामा स्वतन्त्रताको रक्षा गर्नु जति महत्त्वपूर्ण , त्यति नै कठिन पनि संसदमा दुई तिहाइ मत सहितको शक्तिशाली सरकारका रूपमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार साँच्चै शक्तिशाली छ । तर जतिसुकै शक्तिशाली भए पनि सरकार विसंगत अवस्थामा छ । यसका कुनै पनि नीतिमा संगति देखिएका छैनन् । खास गरेर नेपाली प्रेससंँगको यसको सम्बन्ध अमिलिएको छ । सरकारले प्रेससँग स्वतन्त्रताको मूल्य खोजेको छ । गएको साता सरकारले आफ्नै स्वामित्वको सञ्चार माध्यम नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको राजु थापाको कार्यक्रम बन्द भयो । कार्यक्रममा राजु थापाले सञ्चारमन्त्रीसंग सोधेका प्रश्न पूर्वाग्रही र मन्त्रीको पदीय गरिमा सुहाउँदो नभएकाले बन्द गरिएको सुनिएको छ । सरकारी सञ्चार माध्यममा प्रसारण भइरहेका नियमित कार्यक्रमहरू सरकारको नीति अनुसार चलेका हुन्छन् । यसमा अरू कुनै तेस्रो पार्टीको स्वार्थ नहुनुपर्ने हो । तर तेस्रो पार्टीको स्वार्थ सरकारी नीतिमाथि हावी भएको देखिन्छ । सत्ताधारी दलका नेताहरूको व्यक्तित्वसंग नेपाली प्रेसका सबै पक्ष आकर्षित छन् । नेताहरू एकसेएक छन् । प्रधानमन्त्री केपी ओली र उनका सहयात्री प्रचण्डसंँग नेपाली प्रेस रमाउने गरेको छ । समाचारका हिसाबले दुवैको मूल्य बराबर नै होला । तर सरकारको नेता भएकाले प्रम ओलीको कद अझै अग्लो छ । समृद्धिको नदी बहाउन दिलोज्यान लगाइरहेका प्रम ओलीले आफ्नो वाणी र प्रेसको महत्त्व राम्ररी बुझेका छन् । नेपाली प्रेसका लागि ती वाणी उत्तिकै महत्त्वका छन् । विकासको कुरा सुन्दा–सुन्दा उक्ताएका नेपाली जनता समृद्धिको कुरा सुनेर रमाएका छन् । रेल उनीहरूको पहिलो आकर्षण भएको छ । समृद्धिप्रति यो आकर्षणको चित्र निर्माण गर्न नेपाली प्रेस, खास गरेर अनलाइन प्रेसको भूमिका निकै महत्त्वपूर्ण छ । त्यसैगरी टेलिभिजन र सामाजिक सञ्जालले पनि नेपाली चेतनाको स्तर उचाल्न निकै महत्त्वपूर्ण योगदान गरेका छन् । सहयोग दोहोरो हुन्छ । सरकारबाट सहयोग नपाएसम्म सञ्चार माध्यमहरूले आफै सहयोग गर्ने अवस्थामा हाम्रो प्रेस जगत छैन । उहिले संसदीय प्रजातन्त्रका बेला पनि यो अवस्था थिएन । सरकारले आफन्त प्रेसको खुट्टो टेकाउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोगको व्यवस्था गरेकै हुन्छ । आफ्नै बलबुतामा अनलाइन माध्यमहरू टिक्न सक्ने भए त कुरै अर्को हुन्थ्यो होला । नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने यसको अस्तित्व रक्षाका लागि सरकारले निकै ठोस योगदान गरेको छ । सरकारले मासिक रूपले प्रकाशन गरिने विज्ञापनको रकम बढाउँदै लगेर यसलाई नियमित र संस्थागत तुल्याएको छ । प्रकाशित पत्रपत्रिकाप्रति सूचना विभाग र प्रेस काउन्सिलमा बुझाएपछि सम्पादक–प्रकाशक ढुक्क हुने अवस्था छ । निश्चय पनि ठूला पत्रिकाका लागि सरकारको सहयोग वा अनुदान खासै आकर्षणको कुरा होइन । तर सरकारी मान्यताका लागिमात्रै भए पनि उनीहरू योसँंग जोडिएका छन् । नेपालका पत्रपत्रिका पार्टी लाइनमा चलेकामा गुनासो गर्ने थुप्रै छन् । नेपालका उद्योगी, व्यवसायी, व्यापारी र आर्थिक क्षेत्रका व्यक्तिहरू नेपाली प्रेस पूर्वाग्रही भएको र निष्पक्ष नभएकामा गुनासो गर्छन् । यो गुनासो दशकौंदेखिको हो । पहिलो पुस्ताका उद्योगी, व्यापारी नेपाली प्रेसका कटु आलोचक थिए भने अहिलेको पुस्ताले पनि त्यसैलाई निरन्तरता दिएको छ । राजनीतिक र सामाजिक सन्दर्भहरूका समाचारलाई लिएर ठूला र संस्थागत हिसाबले चलेका पत्रपत्रिकाको पनि आलोचना नहुने होइन, तर ती आलोचना मत्थर हुन्छन् । केही ठूला पत्रपत्रिका बिजनेस हाउसका रूपमा विकसित भएकाले पनि यस्तो सार्वजनिक आलोचनाबाट उनीहरू ‘माथि’ उक्लिएका हुन् । नेपाली सञ्चार माध्यमको प्रभाव क्षेत्र निकै सीमित छ । कतिपय अवस्थामा यसको आवाजको सीमा संकुचित देखिन्छ । अहिले सुरु भएको ‘अनलाइन पब्लिकेसन’को धार छापा माध्यमको भन्दा तिखो र विषाक्त छ । अनलाइनको दुनियाँमा गएपछि जसले जे गरे पनि हुन्छ भन्ने मान्यता राखेका छन्, अनलाइन सञ्चालकहरूले । आफनो विचार नियमित रूपले समाजमा पुर्‍याउन रहर गर्ने नव–धनिक वर्गका व्यक्तिहरूले आफैं अनलाइन सुरु गराएर आफ्नो इच्छा पूरा गरेको पनि देखिएको छ । राजनीतिक दलका सबै बाठा–टाठा नेताहरूको आ–आफ्नै अनलाइन छ । त्यस बाहेक सरकार र प्रतिपक्षी दलका प्रभावमा पनि आ–आफ्नै अनलाइन छन् । सामाजिक सञ्जालका नाममा देशभरि छाएका यति धेरै अनलाइनको व्यवस्थापन कसरी हुने हो ? सुशासन ऐनको भावना अनुरूप अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका बने पनि सरकारले यसको उचित व्यवस्थापन गर्नसकेको छैन । दोहोरो मापदण्ड बोकेका कानुनको प्रयोगको भय अहिलेको सर्वाधिक चर्को सत्य हो । शताब्दीयौंदेखि प्रेसको स्वरूप र स्वभाव किन बदलिएको छैन ? किन प्रेसले विभिन्न उद्देश्य बोकेको हुन्छ ? किन सबै देशमा सञ्चार माध्यमको स्वरूप समान हुँदैन ? किन अनुदारवादी शासन भएका देश र स्वतन्त्र देशको सञ्चार माध्यममा यति बढी विविधता पाइन्छ ? यी केही यस्ता प्रश्न हुन्, जसको उत्तर प्रत्येक जागरुक पत्रकारसँग हुनु आवश्यक छ । यी विविधता कुनै पनि देशको क्षमतामा निर्भर गर्ने विषय हुन् । कुनै पनि देशको अर्थतन्त्रले प्रेसलाई धान्न सक्छ कि सक्दैन ? कुनै पनि देशमा सञ्चार माध्यमका लागि आवश्यक प्राविधिक आधार र स्रोत पर्याप्त छ कि छैन ? सञ्चार माध्यमको खपत बढाउन समाज तयार छ कि छैन ? यी केही स्थुल प्रश्न हुन्, जसको सान्दर्भिकता व्यवस्थापन पक्षसँग जोडिन्छ । विश्वव्यापी रूपमा प्रेसको चरित्र एकैनासको देखिए पनि यसको काम गर्ने तरिका फरक हुने गर्छ । यो जुन देशमा क्रियाशील हुन्छ, त्यही देशको सामाजिक र राजनीतिक संरचना अनुरूप यसको कार्यपद्धति तयार भएको हुन्छ । कुनै पनि देशको सञ्चार माध्यममा त्यो देशको समाजको तस्बीर प्रतिविम्बित भएको हुन्छ । त्यसैले संसारका सबै सञ्चारविद्ले सञ्चार माध्यमलाई बुझ्न स्थानीय समाज र त्यसको परिवेशको ज्ञान आवश्यक हुन्छ भनेका हुन् । प्रेस जगत्को अर्को सैद्धान्तिक अवधारणा हो— सामाजिक दायित्वको सिद्धान्त । यो अवधारणा उदारवादी सिद्धान्तकै विस्तारित रूप हो । अधिनायकवादी अवधारणा अनुरूप तयार पारिएको सोभियत सैद्धान्तिक अवधारणाले प्रेसको मामिलामा पुरानो अनुदारवादी धारणाभन्दा पृथक् र आक्रामक आर्थिक र राजनीतिक शैली अपनाएपछि त्यसले प्रस्तुत गरेका चुनौतीहरू सामना गर्न अमेरिकामा सामाजिक दायित्वको सिद्धान्त प्रतिपादित भएको हो । सामाजिक दायित्वको सिद्धान्तलाई एक हिसाबले अमेरिकाको मौलिक सिद्धान्त पनि भन्न सकिन्छ । प्रेसलाई राज्यको दासका रूपमा हेर्ने नीति सोह्रौं र सत्रौं शताब्दीमा विश्वव्यापी रूपमा चलेको थियो । विश्वका अधिकांश राष्ट्रिय प्रेसको पद्धति यही अवधारणा अन्तर्गत तय गरिएको हो । अहिले पनि विश्वका कतिपय अनुदारवादी र नवलोकतान्त्रिक शासन व्यवस्था भएका देशहरूमा प्रेसलाई हेर्ने यो दृष्टिकोणमा खासै परिवर्तन आएको छैन । लोकतान्त्रिक राजनीतिक व्यवस्थाको विकास, धार्मिक स्वतन्त्रता, समानतामूलक र कल्याणकारी अर्थव्यवस्थाले पाएको मान्यता, विश्वमा फस्टाउँदै र मौलाउँदै गएको बौद्धिक र दार्शनिक चेतनाले गर्दा अनुदारवादी सिद्धान्त सङ्कटमा पर्दै गयो । अठारौं शताब्दीको प्रारम्भदेखि प्रेसको उदारवादी सैद्धान्तिक अवधारणा सक्रिय भयो । उदारवादी अवधारणाले सबभन्दा पहिले सत्यलाई राज्यशक्तिको हतियार होइन, व्यक्तिको स्वतन्त्र अधिकार, उसको अस्मिता र अस्तित्वका रूपमा स्वीकार गर्‍यो । उदारवादी सिद्धान्तले स्थापित गरेको मान्यता थियो— मानिस परनिर्भर प्राणी होइन, उसमा बुद्धि हुन्छ । सत्य के हो र छलकपट के हो ? छुट्याउन सक्ने विवेक हुन्छ । शक्तिको खोजी गर्ने मानिसको अधिकार उसबाट पृथक् गराउन सकिँदैन । सत्यको खोजीमा सञ्चार माध्यमहरूले प्रत्येक व्यक्तिको सक्रिय सहकारीको भूमिका निर्वाह गर्नुपर्छ । उदारवादी सिद्धान्तले प्रेसलाई सरकारको मतियार र हतियारका रूपमा प्रयोग गर्ने अनुदारवादी नीतिलाई उल्टाइदियो । प्रेस सरकारमाथि नियन्त्रण राख्ने जनताको अधिकार सुरक्षा गर्ने माध्यमका रूपमा विकसित भयो । सरकारका नीतिहरूमाथि जनताको सूक्ष्म निगरानी बढाउन प्रेसले सहयोगीका रूपमा काम गर्न सकोस् भन्ने उद्देश्य राखेको थियो, उदारवादी नीतिले । प्रेसलाई सरकारको नियन्त्रण र प्रभावबाट मुक्त र स्वतन्त्र राख्नु महत्त्वपूर्ण थियो । किनभने सूचना र विचारहरूको समूहमा सत्यको प्रभाव स्थापित गर्नका लागि सबै पक्षका विचारहरूको प्रतिनिधित्व आवश्यक हुन्छ । अल्पमत होस् वा बहुमत, निर्धो होस् वा बलियो, सञ्चार माध्यममा सबैको बराबरीको पहुँच हुनुपर्छ भन्ने मान्यता नै प्रेसको उदारवादी सिद्धान्त हो । यो सिद्धान्तलाई अमेरिकी संविधानको पहिलो संशोधनले नागरिकको नैसर्गिक मौलिक अधिकारका रूपमा लिपिबद्ध गरेको छ । दोस्रो विश्वयुद्धले विश्वको राजनीतिक नक्सा फेरिएपछि उदाएको साम्यवादले वैचारिक रूपले विभाजित गरेको संसार राजनीतिक हिसाबले पनि दुईवटा ध्रुवमा बाँडिएको हो । एकातिर अमेरिकाले नेतृत्व लिएको पुँजीवादी विश्व व्यवस्था थियो भने अर्कोतिर सोभियत सङ्घले नेतृत्व गरेको कम्युनिस्ट विश्व व्यवस्था । प्रेसको उदारवादी सिद्धान्त आफ्नै समस्यामा अल्झिरहेका समयमा यसले अर्को ठूलो चुनौती सामना गर्नुपर्‍यो । त्यो थियो सञ्चार माध्यमका लागि सोभियत सिद्धान्त । सोभियत सङ्घले ल्याएको प्रेसको सिद्धान्त माक्र्सवादी दर्शनको दृढताले खारिएको थियो । शासनमा एउटा राजनीतिक दलको सर्वोच्चता कायम राख्ने आधारमा तय गरिएको यो नीति आक्रामक थियो । सकारात्मक स्वतन्त्रताको अवधारणाको ठाउँ नकारात्मक स्वतन्त्रताको अवधारणाले लिएको थियो । सरकारबाट पूर्णरूपले नियन्त्रित सोभियत प्रेसले कम्युनिस्ट पार्टीले ‘सत्य’ भनेका विषयलाई मात्रै सत्य भन्थ्यो । माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र माओवादले ठहर्‍याएका सत्यहरूको सम्प्रेषण तत्कालीन एकाधिकारवादी प्रेसको एकमात्र कर्तव्य थियो । सोभियत संघको विघटनपछि यो नीति स्वत: खारेज भए पनि यसका तुषहरू संसारमा अझै बाँकी छन् । अहिले नेपाली सञ्चार क्षेत्रमा जे भइरहेको छ, त्यो कदाचित स्वतन्त्रताप्रेमीका लागि अपेक्षित छैन । सञ्चारमन्त्री र सरकारकै स्वामित्वको सञ्चार माध्यममा कार्यक्रम चलाउने व्यक्ति बीचको सम्बन्ध कस्तो हुनुपर्छ ? यो विचार गर्नुपर्ने विषय हो । के हामी जमानालाई उल्ट्याएर प्रेसका मामिलामा एकाधिकारवादी सिद्धान्तहरू अवलम्बन गर्दैछौं ? समृद्धिको नाराभित्र अन्तरनिहित राजनीतिले हाम्रो लोकतान्त्रिक पद्धतिलाई कहाँ पुर्‍याउँछ ? त्यो हामीले राम्ररी बुझ्नुपर्ने कुरा हो । प्रेस जगतमा अराजकता चलेको छ भने त्यसको समाधान पत्रकार वा सञ्चारकर्मीहरूको घाँटी समातेर हुँदैन । पत्रकारहरूका सबै संघ–संस्था विभाजित र पार्टीमुखी भएको अहिलेको अवस्थामा स्वतन्त्रताको रक्षा गर्नु जति महत्त्वपूर्ण छ, त्यति नै कठिन पनि छ । तर सरकारका सञ्चालकहरूले प्रेस कमजोर भए पनि निसहाय हुँदैन भन्ने बुझ्नुपर्छ । अहिले देखिन थालेको विभाजनले प्रेसको मात्र होइन, सरकारको पनि हित गर्दैन । स्रोत : कान्तिपुर राष्ट्रिय दैनिक मिति : असार ४, २०७५  

You might be interested: