Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

सूचना रोक्ने सरकार

काठमाडौँ — मन्त्रिपरिषद् बैठक सिंहदरबारमा होइन, बालुवाटारमा बस्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सट्टा प्रधानमन्त्री निवासमा । प्रधानमन्त्रीको स्वास्थ्य हेरी त्यो स्वाभाविकै होला । अस्वाभाविक भने बैठक के कार्यसूचीका लागि बस्छ भन्ने मन्त्रीहरूलाई थाहा नहुनु हो । क्याबिनेटलाई पेपरलेस बनाउने भन्दै मन्त्रिपरिषद् बैठकको सज्जा बदलिएको छ । प्रधानमन्त्री तथा मन्त्रीका सामुन्ने टेबलमा ल्यापटप, कम्प्युटर राखिएका छन् । बैठकको कार्यसूची त्यसमै आउँछ । मन्त्रीले पहिल्यै थाहा पाउँदैनन् । बैठक कक्षमा आएर कम्प्युटर लग इन् गरेपछि मात्र छलफलका विषयवस्तु देख्न पाउँछन् । कुन विषयमा निर्णय गर्ने हो, त्यसबारे तयारीबिना सहभागी हुँदा मन्त्रीहरू प्रभावकारी हुँदैनन् । मन्त्रीहरू विभागीय प्रमुखका रूपमा मात्रै प्रस्तुत हुने प्रवृत्ति बन्छ । आफ्ना विषयमा मात्रै बोल्ने र अर्काकामा चुप लाग्ने । एक मन्त्रीले अर्को मन्त्रीका विषयमा खुलस्त सुझाव/प्रतिक्रिया नदिने परिपाटी बढ्छ । मन्त्रिपरिषद्मा सामूहिकताको भावनामा कमी आउँछ । मन्त्रीहरू झन् प्रधानमन्त्रीमुखी हुन पुग्छन् । प्रधानमन्त्री केपी शर्मा ओली विषयगत छलफल धेरै गराउनेमा कमरुचि राख्छन् । मन्त्रीहरूलाई कुन दिन कति बेला बैठक डाकिन्छ, थाहा हुँदैन । कस्तो विषयमा कसरी प्रस्तुत हुने तयारी गर्न नपाउँदाको असर बैठकमा पर्छ । गृहकार्य पर्याप्त भएको हुँदैन । त्यस्ता बैठकको निर्णय प्रेसलाई चुहाएपछि कति कार्यान्वयन हुन्छन्, कति विवादमा फस्छन्, कति फिर्ता हुन्छन् । दोषजति पत्रकारलाई । निर्णयको मसी सुक्न नपाउँदै विरोध हुन थाल्छ भन्ने गुनासो मन्त्रीहरू गर्छन् । मन्त्रिपरिषद्का निर्णय जनताले छिटो थाहा पाएर विवादमा आउने होइनन् । जनताले थाहा पाउनु समस्या होइन । सरकारले पारदर्शिताप्रति आफ्नो जिम्मेवारी नबुझेको हो । लोकतान्त्रिक सरकारहरूको जवाफदेहिता पारदर्शिताबाट कायम हुन्छ । जनउत्तरदायी सरकारहरू नीतिगत निर्णय वा महत्त्वपूर्ण नियुक्तिगर्नुअघि जनतालाई थाहा दिएर बैठक बस्छन् । जनभावना बुझ्न खोज्छन् । जनमतको सम्मान गर्छन् । निर्णय लुकाउन खोज्दैनन्, बरु सम्झाउन खोज्छन् । बालुवाटारमा आइतबार राति अबेर सकिएको चार घण्टा लामो बैठक वर्तमान सरकारको मानसिकता र कार्यशैली बुझाउन काफी छ । मन्त्रिपरिषद्का प्रवक्ता रहेका सूचना तथा सञ्चारमन्त्रीले कुनै जानकारी नदिई ‘निर्णयहरू समयक्रममा थाहा पाइने’ बताए । सूचना प्रवाहलाई व्यवस्थित गर्ने गरी सातामा एकपल्ट पत्रकार सम्मेलन गर्ने आश्वासन पनि दिए । सरकारले सूचना व्यवस्थित गर्न होइन, नियन्त्रण गर्न खोजेको हो भन्ने बुझ्न गाह्रो छैन । गत भदौ २१ गतेको बैठकका निर्णय त अहिलेसम्म दिइएका छैनन् । वेभसाइटमा राख्ने त कहिले हो कहिले । सूचनाको हकको कदर गर्नुपर्ने संवैधानिक दायित्वसमेत बेवास्ता गर्न चाहेको छ । निर्णय गर्ने अधिकार सरकारको हो भने सूचना दिने दायित्व पनि हो । अधिकार प्रयोग गर्ने दायित्व बिर्सन पाइँदैन । पाएसम्म त सरकारआफ्ना निर्णय गोप्य नै राख्न चाहन्छ, ताकि कुनै बाधाविरोध नहोस् । गोपनीयता हाम्रा पदाधिकारीको धर्मजस्तै छ । शपथ व्यहोरामा ‘पद तथा गोपनीयता’ वा ‘पदीय गोपनीयता’ भन्ने वाक्यांश अझै उल्लेख हुन्छ । यसले पारदर्शितालाई होइन, गोपनीयतालाई जोड दिएको देखिन्छ । संविधान र कानुनको अधीनमा रहने भनिसकेपछि गोपनीयता जप्नुको औचित्य हुँदैन । संविधानले सूचनाको हक स्थापित भएको पारदर्शी राज्यको परिकल्पना गरेको छ । कानुनले गोप्य मानेका सूचनाहरू न पत्रकारले खोज्छन्, न नागरिकलाई खाँचो पर्छ । जनतालाई प्रत्यक्ष प्रभाव पर्ने र सार्वजनिक सरोकारका विषयमाथि सरकारका निर्णय लुकाउनु जनतालाई सूचनाको अधिकारबाट वञ्चित गर्नु हो । सरकारले मुख बन्द गर्दा जनताका कान झन् टाठा हुन पुग्छन् । सरकारले सिंहदरबारका भित्ताका कान थुन्न सक्ला, जनताका घरका भित्ता होइन । अपुष्ट जानकारीहरू हल्लाको रूप लिएर झन् छिटो फैलिन सक्छन्, जसको घाटा सरकारलाई नै हुन पुग्नेछ । छिनछिनको खबरको यस युगमा सरकारको आधिकारिक व्यक्तिले समयमै सूचना नदिएपछि अनुमानकारिता बढ्छ । सञ्चार माध्यमले बेनामी स्रोत प्रयोग गर्नुपर्ने हुन्छ । सरकारलाई सहज हुने र मन लागेका सूचना मात्र बाहिर आउँछन् । यसले तथ्यभन्दा बढी भ्रम फैलने खतरा हुन्छ । सूचना लुकाएपछि स्वेच्छाचारी निर्णय गर्ने प्रवृत्ति बढ्छ । सरकारले मन्त्रिपरिषद् निर्णय सुनाउने प्रचलनमा झ्याप्पै ब्रेक लगाएको देखिए पनि यसको गति पहिलेदेखि धिमा बनाउँदै आएको थियो । पछिल्ला बैठकका निर्णय तौली–तौली, अड्कली–अड्कली दिने गरिएको थियो । ताली पाउने निर्णय सार्वजनिक गर्ने र आलोचना हुन सक्ने लुकाउने गर्न थालिसकेको थियो । सरकारले नबुझेजस्तो छ, निर्णय सार्वजनिक गर्दा थप प्रस्ट हुन्छन् । विवाद भए बहस हुन्छ । सच्याउन मिल्छ । पारदर्शी राज्य सूचना बाँडेर स्थापित हुन्छ, लुकाएर होइन । सरकारसँग जनताको आवाज सुन्ने र स्वार्थ समूहको दबाब झेल्ने क्षमता कायम हुन्छ । त्यस्तो इच्छाशक्ति भए सूचना लुकाइरहनु पर्दैन । पारदर्शिताबिना जन–वफादारिता सम्भव छैन । सूचना लुकाउने प्रवृत्तिले लोकतन्त्रको धमनीलाई कमजोर बनाउँछ । लोकतन्त्रको स्वास्थ्यका लागि समयमै सही सूचना अनिवार्य हुन्छ । उत्तरदायी व्यवस्थाले सुसूचित नागरिकको परिकल्पना गर्छ । प्रेसलाई तत्काल सूचना दिने चलन सुशासन अवधारणासँगै आएको हो । सरकारलाई प्रभावकारी बनाउन पनि सूचना तत्काल सार्वजनिक गर्ने यसको सन्देश हो । सूचनाको हक, पारदर्शिता र जवाफदेहिता सुशासनका अंग हुन् । जनतालाई छिटो जानकारी दिँदा सुशासनप्रवर्द्धन हुन्छ । कार्यसम्पादन नियमावलीअनुसार मन्त्रिपरिषद् बैठकपछि मस्यौदा प्रधानमन्त्रीलाई देखाएर मुख्यसचिवले दस्तखत गरेपछि निर्णय आधिकारिक बन्छ । त्यस्तो निर्णय सुनाउन साताको एक दिन कुराउनुको औचित्य हुँदैन । निर्णय २४ घण्टाभित्र मन्त्रिपरिषद्को वेभसाइटमार्फत सार्वजनिक गर्ने र त्यसउपरका जिज्ञासा साप्ताहिक अन्तक्र्रियामा दिने थिति भने बनाउन सकिन्छ । ढाँटको निम्तो खाई पत्याउनु । सरकारका कामकारबाहीको मूल्यांकन उसको विगतका गतिविधि हेरेर गर्ने हो । अहिलेसम्म महिनौंअघि भएका मन्त्रिपरिषद्का कति निर्णय अझै वेभसाइटमा राखिएका छैनन् । २०६२/६३ पछि यसरी सूचना दिने चलन बसालिएकाले यो गणतन्त्रको देन हो । राजकीय सत्ताको स्रोत जनतालाई सरकारका निर्णय तत्काल सुनाउने । सरकार यसरी पछि हट्दा हाम्रो राजनीतिक उपलब्धिकै अनादर हुन्छ । पारदर्शी राज्यको प्रतिबद्धताबाट सरकार पछि हट्नु हाम्रो संवैधानिक मर्मकै धज्जी उडाउने कदम हो । संविधान र लोकतन्त्रले चाहेको खुलापन हो । पारदर्शिता हो । सूचनाको स्वतन्त्र प्रवाह हो । स्रोत कान्तिपूर दैनिकः  कार्तिक २७, २०७५ सम्पादकीय

You might be interested: