Search

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

नागरिकको मुख थुन्ने दुष्प्रयास

विपुल पोख्रेल सुशासनका क्षेत्रमा काम गर्ने अभियन्ताहरूको चोटिलो र साझा धारणा रहने गर्छ— भ्रष्टहरूमा न इमानदारी हुन्छ, न त राष्ट्रियता नै । यो भनाइले कसैको मन त घोच्छ होला, तर यसको प्रतिवाद गर्ने आँट कसैको हुँदैन । मानिसको आँटको जग भनेकै इमानदारी हो । त्यही नै नभएकाहरूले प्रतिवादको आँट गर्न सक्ने कुरा पनि भएन । त्यो प्रवृत्तिको अर्को विशेषता पनि हुने गर्छ, उनीहरू प्रतिवाद त गर्दैनन्, तर आफूलाई सही साबित गर्न गलत उपाय अपनाउँछन् । यो भ्रष्टाचारमा मुछिएकाहरूको आमप्रवृत्ति हो । शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफूअनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ । यस्ता प्रवृत्तिको शिकार हुने वर्ग भनेको पत्रकार नै हो । पत्रकारहरूले भ्रष्टाचारको विषय सार्वजनिक गर्दा ती घटनामा संलग्न पात्रहरूको छटपटी देखिन्छ । त्यसपछि उनीहरू धाक, धम्की, आक्रमण हुँदै प्रलोभन दिने अवस्थासम्म पुग्छन् । उनीहरूले के भुलिरहेका हुन्छन् भने, त्यस्ता समाचार कुनै एक व्यक्तिविरुद्ध नभएर भ्रष्टाचारविरुद्धको प्रहारका रूपमा सार्वजनिक गरिएका हुन्छन् । त्यसैगरी धम्की, धाक, आक्रमण, प्रलोभन केहीबाट पछि हट्नेछैन भन्ने आत्मविश्वाससाथ नै पत्रिकाहरूले त्यस्ता समाचारहरूमा हात हालेका हुन्छन् र यथेष्ट प्रमाणसहित भ्रष्टाचारका विषय उठाइएका हुन्छन् । केही अपवादलाई छाड्ने हो भने नेपाली पत्रकारिताले आफूलाई यो ढंगको रिपोर्टिङ गर्ने अवस्थामा पु¥याउँदै छ । भ्रष्टाचारको नालीबेली खोतल्ने यो यात्रामा पत्रकारिताले विश्वसनीयता पनि बढाउँदै गएको छ । नेपालको पत्रकारिता पनि भ्रष्टाचारको सन्दर्भमा निर्ममतासाथ प्रस्तुत भइरहेको छ । गाउँको कुलो उपभोक्ता समितिमा भएका भ्रष्टाचारदेखि राष्ट्रलाई टाट पल्टाउने ढंगले देखिन थालेका भ्रष्ट प्रवृत्तिलाई नेपाली पत्रकारिताले आफ्नो चासोको विषय बनाएको छ । एनसेल प्रकरणदेखि आयल निगमको जग्गा खरिद प्रकरणसम्म आइपुग्दा नेपाली मिडियाले आफ्नो प्रभावलाई बलियो रूपमा उठाउन सकेको छ । आयल निगमको जग्गा प्रकरणको विषयमा शृंखलाबद्ध अनुसन्धानात्मक रिपोर्टिङ भइरहँदा त्यो प्रकरणमा मुछिएका प्रबन्ध निर्देशकले समाचार लेख्ने पत्रकार दीलिप पौडेल र समाचार छाप्ने पत्रिका नागरिक दैनिकलाई मुद्दा लगाएका छन् । नागरिक पत्रिका केही महिनायता नागरिक समाजको खास प्रवक्ता बनेर अनियमितता, भ्रष्टाचारमा प्रश्न उठाइरहेको छ । नागरिक पत्रिकाले डेढ अर्बको कारोबार गर्दा ६७ करोड घोटाला भएको तथ्य बाहिर ल्याएको थियो । त्यस प्रकरणमा सार्वभौम संसद्का विभिन्न समितिहरूले पनि गहिरो अध्ययन गरी कारबाहीका लागि सिफारिससमेत गरेका छन् । अख्तियारको चासो यो प्रकरणमा तानिनु स्वाभाविक हो । यति गहिरिएर अनुसन्धान भइरहेको विषयमा आफ्नो पक्षमा यथेष्ट प्रमाण संकलन गर्नुपर्ने पात्र ‘मेरो मानहानि भयो’ भन्दै सम्मानित अदालतसमक्ष पुगेका छन् । अदालत जाने उनको अधिकारको हरेक विधिको शासन मान्नेहरूले सम्मान गर्छन् नै । तर, उनी अदालत पुगेर मूल मुद्दालाई अर्को मोड दिएर आफू जोगिन चाहेको मनसाय प्रस्ट हुन्छ । सम्मानित अदालतले यो विषयमा फैसला दिने नै छ । आयल निगमको जग्गा खरिद प्रकरणमा सार्वभौम संसद्का समितिहरूमा सांसदहरूले छलफल गरे । कारबाहीका लागि सिफारिससमेत भयो । सार्वजनिक बहसको विषय पनि हो, यो । तर, आक्रमणको निशाना पत्रकार र पत्रिका हुन पुग्यो । पत्रकारिताको संवेदनशीलता र प्रभावकारिता कति भन्ने यो कुराले पनि पुष्टि गरिदिएको छ । शासकहरू, शक्ति केन्द्रहरू र समाजमा गलत काम गर्नेहरूको तारो सधैँ पत्रकारिता नै हुने गर्छ । राजा ज्ञानेन्द्रको महत्वाकांक्षा चुलिँदा पनि पहिलो तारो मिडिया नै बन्यो । आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का समाजमा लाजमर्दो अवस्थाको सामना गर्न पुग्दा उनको तारो पनि मिडिया नै बन्यो । शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफ्नो अनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ । तर, मिडियाले यस्तै बेलामा नागरिकको पक्षमा उभिएर आफ्नो औचित्य, आवश्यकता, प्रभावकारिता र खबरदारी गर्ने आफ्नो मौलिक चरित्रको निरन्तरतालाई प्रदर्शित गरिराख्छ । अनुसन्धानात्मक रिपोर्टिङका माध्यमबाट देशभित्रका अनियमिता, भ्रष्टाचारजस्ता विषयलाई सार्वजनिक गर्दै खबरदारी गर्ने नेपाली पत्रकारिताको विशिष्ट चरित्र हो । पत्रकारिताको यो विशिष्ट चरित्रअनुसार नेपाली पत्रकारहरू क्रियाशील छन् र आमसञ्चारका माध्यमहरूले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्दै यस्ता सवालहरूलाई उजागर गर्दै आएका छन् । यसैकारण भ्रष्टाचारका पुलिन्दाहरू एकपछि अर्को खुल्दै गएका छन् र राज्यलाई भ्रष्टाचारविरुद्ध प्रस्तुत हुनका लागि आत्मविश्वास बढाउन मद्दत पुगिरहेको छ । भ्रष्टाचारको जालो नराम्रोसँग फैलिएको हुन्छ । यसलाई पूर्णरूपमा हटाउन गाह्रो नै हुन्छ । देशमा ०४६ को परिवर्तनपछिको पहिलो जननिर्वाचित सरकारमा कृषिमन्त्री रहेकी नेतृ शैलजा आचार्यले ‘भ्रष्टाचारको जालो फ्याँक्न’ हिम्मत गरिन्, तर ‘एक्लै सम्भव नहुने’ निष्कर्षसाथ राजीनामा दिइन् । ०५७ सालमा जलस्रोत मन्त्री बनेका बलदेव शर्मा मजगैयाँले पनि ‘भ्रष्टाचारको साक्षी नबन्ने’ निष्कर्षसाथ राजीनामा दिएका थिए । भर्खरै प्रकाशित पत्रकार हरिबहादुर थापाको ‘रजगज’ नामक पुस्तकले त भ्रष्टाचार कसरी जेलिएको छ भन्ने कुरालाई छताछुल्ल पारिदिएको छ । भ्रष्टाचारको जालो कहाँसम्म पुग्छ भन्ने कुराको अनुमान सायदै कसैले गर्न सक्ला । अदालतलाई समेत उपयोग गर्ने तहसम्म यो जालो पुग्छ भन्ने पनि देखिन्छ, बेलाबेलामा । नागरिक दैनिक र त्यसका पत्रकारमाथिको मुद्दाले त्यो मनसाय प्रस्ट रूपमा देखिएको छ । सम्मानित अदालतमा दर्ता भएको सो मुद्दाबारे अदालतले टुंगो लगाउने नै छ । अदालतले नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र अनुसन्धानात्मक पत्रकारिताको चरित्रलाई सुरक्षित गर्ने गरी फैसला गर्ने विश्वास पत्रकार महासंघले लिएको उसको विज्ञप्तिमा उल्लेख छ । यो विश्वास आमपत्रकार, विधिको शासनका पक्षपाती र लोकतन्त्रका पक्षधर सबैमा रहेको छ । मिडियाका आफ्ना समस्या छन्, चुनौती पनि प्रशस्तै छन् । ती समस्याको सम्बोधन र चुनौतीको सामना गर्न सक्ने गरी पत्रकारितालाई उचाइ दिनुपर्ने अवस्था छँदै छ । यस विषयमा प्रशस्त बहस पनि भइरहेका छन् । यसका लागि काम पनि नभएका होइनन् । पेसागत सुरक्षा र श्रमको सम्मानको अनुभूति गर्न नसकिरहेका पत्रकारहरूको प्रयासबाट पनि नेपाली पत्रकारिता आलोचनात्मक चरित्र जोगाउँदै एउटा चोटिलो झापट दिनसक्ने अवस्थामा रहेको छ । नागरिक समाजको प्रवक्ताका रूपमा पत्रकारिताले राज्यको खबरदारी गरिरहेको छ । पत्रकारहरूले पेसागत सुरक्षाको अनुभूति गर्न पाए, श्रमको सम्मान भएको महसुस गरे अनि श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको अवस्था बन्यो भने त्यसले नेपाली पत्रकारितालाई अझ बलियो बनाउने कुरामा दुईमत रहँदैन । अहिले नेपाली पत्रकारिता ‘इमानदारी र राष्ट्रियता नै नहुने’ वर्ग र भ्रष्ट प्रवृत्तिविरुद्ध खरो रूपमा उत्रँदै अगाडि बढिरहेको महसुस आम नागरिकहरूलाई भइरहेको छ । यसले पत्रकारिताप्रतिको विश्वसनीयतालाई पनि बढावा दिइरहेको छ । पत्रकारिता प्रभावकारी हुँदै गर्दा र नागरिकहरूमा विश्वास चुलिँदै गर्दा त्यसबाट शासकहरू तथा भ्रष्टहरू स्वभावतः तर्सन्छन् । उनीहरूको त्रस्त मानसिकताले पत्रकारिताको स्वतन्त्रताको दायरालाई खुम्च्याउन र आर्थिक रूपमा संकट उत्पन्न गराउन विभिन्न खाले षड्यन्त्रका तानाबाना पनि बुनिन सक्छन् । यो पक्षलाई पत्रकारहरूका संस्थाले विशेष ध्यान पु¥याउनुपर्छ नै । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ यो विषयमा गम्भीरतासाथ प्रस्तुत हुने नै छ । पत्रकार महासंघले नागरिक पत्रिका र त्यसका पत्रकारको मुख थुन्ने र उनीहरूलाई आर्थिक भार थपिन्छ भनेर त्रस्त बनाउने मनसायले दर्ता भएको मुद्दाका सन्दर्भमा आफ्नो धारणा राख्दै गर्दा भनेको छ, ‘प्रेस स्वतन्त्रता, हाम्रो आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भीकतापूर्वक खोजी पत्रकारितामा दृढतापूर्वक लागिरहन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरूलाई आह्वान गर्छ ।’ यो आह्वान पत्रकारहरूको मनोबल उचो राख्न महत्वपूर्ण आधार बनेको छ । पत्रकारितालाई बलियो बनाउन पत्रकारहरूको मनोबल उचो हुनुपर्छ । उनीहरूको आत्मबल उँचो राख्न पत्रकार महासंघले सबै प्रकारका काम र दायित्व निर्वाह गर्दै जानुपर्छ र जाने पनि छ । Source: Nagarik Daily September 7, 2017

You might be interested: