धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकार सञ्जिता धमलामाथि प्रहरी लगाएर कार्यकक्षमै धरपकड गरेको विषयप्रति फ्रिडम फोरमको गम्भीर ध्यानकर्षण भएको छ ।

https://www.purbelinews.com/ मा कार्यरत पत्रकार धमलाले नागरिकताको प्रमाणपत्र सिफारिसका लागि जनप्रतिनिधिले घुस माग्ने गरेको गुनासो आएको भन्दै धरान उपमहानगरपालिकाले असार १९ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयरलाई जानकारी गराएकी थिइन् ।

“त्यसपछि, असार २१ गते मेयर साम्पाङले सार्वजनिकरुपमा आफ्नो फेसबुक पेजमार्फत् सो गुनासोको विषयमा प्रमाणसहित आफूलाई भेट्न भन्दै पत्रकार धमला र पत्रकारिताको नै बदनाम गर्ने नियतका साथ धम्की दिदैँ लेखेका थिए ।

पत्रकार धमला गत असार २१ गते मेयर साम्पाङलाई भेट्न धरान उपमहानगरपालिकाको कार्यालय पुगेकी थिइन् । सो गुनासोको विषयमा कुरा हुदैँ गर्दा मेयर साम्पाङले पत्रकार धमलालाई उनको कार्यकक्ष भित्र मौखिक दुव्र्यवहार गर्नुको साथै नगर प्रहरी र जनपथ प्रहरी लगाएर हातपात गराएका थिए ।

प्रहरीहरुले मेयरको आदेशमा पत्रकारलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेका थिए । घटनामा पत्रकार धमलाको शरिरका विभिन्न भागमा निलडाम बस्नुका साथै चस्मासमेत फुटेको छ ।

मेयरले आफू र पत्रकारिता पेशालाई बदनाम गरेको भन्दै पत्रकार धमलाले मुद्दा दायर गर्न चाहेको बताइन् । साथै उनले मानवअधिकार निकाय र पत्रकारितासँग सम्बन्धित संस्थाहरुसँग कानुनी लगायत सबै प्रकारको सहयोगको याचनासमेत गरेकी छिन् ।

साम्पाङले पटकपटक पत्रकारलाई गाली गर्ने र मिडियालाई बदनाम गर्दै आएका छन् । यो घटना सञ्चारमाध्यम र पत्रकारप्रति जनप्रतिनिधिले देखाएको चरम गैरजिम्मेवार र अनादर हो । यस घटनाले सञ्चारमाध्यम र पत्रकारहरूप्रति सरकारी अधिकारीहरूको बढ्दो असहिष्णुता देखाउँछ । यस्तो असहिष्णु व्यवहार स्वतन्त्र प्रेसका लागि हानिकारक छ । सार्वजनिक निकाय र व्यक्तिले जनताप्रति जवाफदेही हुनुका साथै र आलोचनात्मक विचारलाई सम्मान गर्नुपर्दछ ।

पत्रकार धमलामाथि भएको दुव्र्यवहारको फ्रिडम फोरम घोर निन्दा गर्दछ र प्रेस स्वतन्त्रता र पत्रकारको स्वतन्त्र रिपोर्टिङको अधिकारको सम्मान गर्न मेयर साम्पाङलाई जोडदार आग्रह गर्दछ ।

त्यसैगरी, मेयरले पत्रकारमाथि सामाजिक सञ्जालमा नकारात्मक पोस्ट गरिरहेकाले सुरक्षा निकाय र मानवअधिकार निकायलाई धमलाको सुरक्षामा ध्यान दिन फ्रिडम फोरम अनुरोध गर्दछ ।