स्वतन्त्र प्रेसका समस्या
पत्रकारहरूका सबै संघ–संस्था विभाजित र पार्टीमुखी भएको अहिलेको अवस्थामा स्वतन्त्रताको रक्षा गर्नु जति महत्त्वपूर्ण छ, त्यति नै कठिन पनि छ ।
संसदमा दुई तिहाइ मत सहितको शक्तिशाली सरकारका रूपमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार साँच्चै शक्तिशाली छ । तर जतिसुकै शक्तिशाली भए पनि सरकार विसंगत अवस्थामा छ । यसका कुनै पनि नीतिमा संगति देखिएका छैनन् । खास गरेर नेपाली प्रेससंँगको यसको सम्बन्ध अमिलिएको छ ।
सरकारले प्रेससँग स्वतन्त्रताको मूल्य खोजेको छ । गएको साता सरकारले आफ्नै स्वामित्वको सञ्चार माध्यम नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको राजु थापाको कार्यक्रम बन्द भयो । कार्यक्रममा राजु थापाले सञ्चारमन्त्रीसंग सोधेका प्रश्न पूर्वाग्रही र मन्त्रीको पदीय गरिमा सुहाउँदो नभएकाले बन्द गरिएको सुनिएको छ । सरकारी सञ्चार माध्यममा प्रसारण भइरहेका नियमित कार्यक्रमहरू सरकारको नीति अनुसार चलेका हुन्छन् । यसमा अरू कुनै तेस्रो पार्टीको स्वार्थ नहुनुपर्ने हो । तर तेस्रो पार्टीको स्वार्थ सरकारी नीतिमाथि हावी भएको देखिन्छ ।
सत्ताधारी दलका नेताहरूको व्यक्तित्वसंग नेपाली प्रेसका सबै पक्ष आकर्षित छन् । नेताहरू एकसेएक छन् । प्रधानमन्त्री केपी ओली र उनका सहयात्री प्रचण्डसंँग नेपाली प्रेस रमाउने गरेको छ । समाचारका हिसाबले दुवैको मूल्य बराबर नै होला । तर सरकारको नेता भएकाले प्रम ओलीको कद अझै अग्लो छ । समृद्धिको नदी बहाउन दिलोज्यान लगाइरहेका प्रम ओलीले आफ्नो वाणी र प्रेसको महत्त्व राम्ररी बुझेका छन् । नेपाली प्रेसका लागि ती वाणी उत्तिकै महत्त्वका छन् ।
विकासको कुरा सुन्दा–सुन्दा उक्ताएका नेपाली जनता समृद्धिको कुरा सुनेर रमाएका छन् । रेल उनीहरूको पहिलो आकर्षण भएको छ । समृद्धिप्रति यो आकर्षणको चित्र निर्माण गर्न नेपाली प्रेस, खास गरेर अनलाइन प्रेसको भूमिका निकै महत्त्वपूर्ण छ । त्यसैगरी टेलिभिजन र सामाजिक सञ्जालले पनि नेपाली चेतनाको स्तर उचाल्न निकै महत्त्वपूर्ण योगदान गरेका छन् ।
सहयोग दोहोरो हुन्छ । सरकारबाट सहयोग नपाएसम्म सञ्चार माध्यमहरूले आफै सहयोग गर्ने अवस्थामा हाम्रो प्रेस जगत छैन । उहिले संसदीय प्रजातन्त्रका बेला पनि यो अवस्था थिएन । सरकारले आफन्त प्रेसको खुट्टो टेकाउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोगको व्यवस्था गरेकै हुन्छ । आफ्नै बलबुतामा अनलाइन माध्यमहरू टिक्न सक्ने भए त कुरै अर्को हुन्थ्यो होला । नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने यसको अस्तित्व रक्षाका लागि सरकारले निकै ठोस योगदान गरेको छ ।
सरकारले मासिक रूपले प्रकाशन गरिने विज्ञापनको रकम बढाउँदै लगेर यसलाई नियमित र संस्थागत तुल्याएको छ । प्रकाशित पत्रपत्रिकाप्रति सूचना विभाग र प्रेस काउन्सिलमा बुझाएपछि सम्पादक–प्रकाशक ढुक्क हुने अवस्था छ । निश्चय पनि ठूला पत्रिकाका लागि सरकारको सहयोग वा अनुदान खासै आकर्षणको कुरा होइन । तर सरकारी मान्यताका लागिमात्रै भए पनि उनीहरू योसँंग जोडिएका छन् ।
नेपालका पत्रपत्रिका पार्टी लाइनमा चलेकामा गुनासो गर्ने थुप्रै छन् । नेपालका उद्योगी, व्यवसायी, व्यापारी र आर्थिक क्षेत्रका व्यक्तिहरू नेपाली प्रेस पूर्वाग्रही भएको र निष्पक्ष नभएकामा गुनासो गर्छन् । यो गुनासो दशकौंदेखिको हो । पहिलो पुस्ताका उद्योगी, व्यापारी नेपाली प्रेसका कटु आलोचक थिए भने अहिलेको पुस्ताले पनि त्यसैलाई निरन्तरता दिएको छ । राजनीतिक र सामाजिक सन्दर्भहरूका समाचारलाई लिएर ठूला र संस्थागत हिसाबले चलेका पत्रपत्रिकाको पनि आलोचना नहुने होइन, तर ती आलोचना मत्थर हुन्छन् । केही ठूला पत्रपत्रिका बिजनेस हाउसका रूपमा विकसित भएकाले पनि यस्तो सार्वजनिक आलोचनाबाट उनीहरू ‘माथि’ उक्लिएका हुन् ।
नेपाली सञ्चार माध्यमको प्रभाव क्षेत्र निकै सीमित छ । कतिपय अवस्थामा यसको आवाजको सीमा संकुचित देखिन्छ । अहिले सुरु भएको ‘अनलाइन पब्लिकेसन’को धार छापा माध्यमको भन्दा तिखो र विषाक्त छ । अनलाइनको दुनियाँमा गएपछि जसले जे गरे पनि हुन्छ भन्ने मान्यता राखेका छन्, अनलाइन सञ्चालकहरूले । आफनो विचार नियमित रूपले समाजमा पुर्याउन रहर गर्ने नव–धनिक वर्गका व्यक्तिहरूले आफैं अनलाइन सुरु गराएर आफ्नो इच्छा पूरा गरेको पनि देखिएको छ ।
राजनीतिक दलका सबै बाठा–टाठा नेताहरूको आ–आफ्नै अनलाइन छ । त्यस बाहेक सरकार र प्रतिपक्षी दलका प्रभावमा पनि आ–आफ्नै अनलाइन छन् । सामाजिक सञ्जालका नाममा देशभरि छाएका यति धेरै अनलाइनको व्यवस्थापन कसरी हुने हो ? सुशासन ऐनको भावना अनुरूप अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका बने पनि सरकारले यसको उचित व्यवस्थापन गर्नसकेको छैन । दोहोरो मापदण्ड बोकेका कानुनको प्रयोगको भय अहिलेको सर्वाधिक चर्को सत्य हो ।
शताब्दीयौंदेखि प्रेसको स्वरूप र स्वभाव किन बदलिएको छैन ? किन प्रेसले विभिन्न उद्देश्य बोकेको हुन्छ ? किन सबै देशमा सञ्चार माध्यमको स्वरूप समान हुँदैन ? किन अनुदारवादी शासन भएका देश र स्वतन्त्र देशको सञ्चार माध्यममा यति बढी विविधता पाइन्छ ? यी केही यस्ता प्रश्न हुन्, जसको उत्तर प्रत्येक जागरुक पत्रकारसँग हुनु आवश्यक छ । यी विविधता कुनै पनि देशको क्षमतामा निर्भर गर्ने विषय हुन् । कुनै पनि देशको अर्थतन्त्रले प्रेसलाई धान्न सक्छ कि सक्दैन ? कुनै पनि देशमा सञ्चार माध्यमका लागि आवश्यक प्राविधिक आधार र स्रोत पर्याप्त छ कि छैन ? सञ्चार माध्यमको खपत बढाउन समाज तयार छ कि छैन ? यी केही स्थुल प्रश्न हुन्, जसको सान्दर्भिकता व्यवस्थापन पक्षसँग जोडिन्छ ।
विश्वव्यापी रूपमा प्रेसको चरित्र एकैनासको देखिए पनि यसको काम गर्ने तरिका फरक हुने गर्छ । यो जुन देशमा क्रियाशील हुन्छ, त्यही देशको सामाजिक र राजनीतिक संरचना अनुरूप यसको कार्यपद्धति तयार भएको हुन्छ । कुनै पनि देशको सञ्चार माध्यममा त्यो देशको समाजको तस्बीर प्रतिविम्बित भएको हुन्छ । त्यसैले संसारका सबै सञ्चारविद्ले सञ्चार माध्यमलाई बुझ्न स्थानीय समाज र त्यसको परिवेशको ज्ञान आवश्यक हुन्छ भनेका हुन् ।
प्रेस जगत्को अर्को सैद्धान्तिक अवधारणा हो— सामाजिक दायित्वको सिद्धान्त । यो अवधारणा उदारवादी सिद्धान्तकै विस्तारित रूप हो । अधिनायकवादी अवधारणा अनुरूप तयार पारिएको सोभियत सैद्धान्तिक अवधारणाले प्रेसको मामिलामा पुरानो अनुदारवादी धारणाभन्दा पृथक् र आक्रामक आर्थिक र राजनीतिक शैली अपनाएपछि त्यसले प्रस्तुत गरेका चुनौतीहरू सामना गर्न अमेरिकामा सामाजिक दायित्वको सिद्धान्त प्रतिपादित भएको हो । सामाजिक दायित्वको सिद्धान्तलाई एक हिसाबले अमेरिकाको मौलिक सिद्धान्त पनि भन्न सकिन्छ ।
प्रेसलाई राज्यको दासका रूपमा हेर्ने नीति सोह्रौं र सत्रौं शताब्दीमा विश्वव्यापी रूपमा चलेको थियो । विश्वका अधिकांश राष्ट्रिय प्रेसको पद्धति यही अवधारणा अन्तर्गत तय गरिएको हो । अहिले पनि विश्वका कतिपय अनुदारवादी र नवलोकतान्त्रिक शासन व्यवस्था भएका देशहरूमा प्रेसलाई हेर्ने यो दृष्टिकोणमा खासै परिवर्तन आएको छैन ।
लोकतान्त्रिक राजनीतिक व्यवस्थाको विकास, धार्मिक स्वतन्त्रता, समानतामूलक र कल्याणकारी अर्थव्यवस्थाले पाएको मान्यता, विश्वमा फस्टाउँदै र मौलाउँदै गएको बौद्धिक र दार्शनिक चेतनाले गर्दा अनुदारवादी सिद्धान्त सङ्कटमा पर्दै गयो । अठारौं शताब्दीको प्रारम्भदेखि प्रेसको उदारवादी सैद्धान्तिक अवधारणा सक्रिय भयो । उदारवादी अवधारणाले सबभन्दा पहिले सत्यलाई राज्यशक्तिको हतियार होइन, व्यक्तिको स्वतन्त्र अधिकार, उसको अस्मिता र अस्तित्वका रूपमा स्वीकार गर्यो । उदारवादी सिद्धान्तले स्थापित गरेको मान्यता थियो— मानिस परनिर्भर प्राणी होइन, उसमा बुद्धि हुन्छ । सत्य के हो र छलकपट के हो ? छुट्याउन सक्ने विवेक हुन्छ । शक्तिको खोजी गर्ने मानिसको अधिकार उसबाट पृथक् गराउन सकिँदैन । सत्यको खोजीमा सञ्चार माध्यमहरूले प्रत्येक व्यक्तिको सक्रिय सहकारीको भूमिका निर्वाह गर्नुपर्छ ।
उदारवादी सिद्धान्तले प्रेसलाई सरकारको मतियार र हतियारका रूपमा प्रयोग गर्ने अनुदारवादी नीतिलाई उल्टाइदियो । प्रेस सरकारमाथि नियन्त्रण राख्ने जनताको अधिकार सुरक्षा गर्ने माध्यमका रूपमा विकसित भयो । सरकारका नीतिहरूमाथि जनताको सूक्ष्म निगरानी बढाउन प्रेसले सहयोगीका रूपमा काम गर्न सकोस् भन्ने उद्देश्य राखेको थियो, उदारवादी नीतिले । प्रेसलाई सरकारको नियन्त्रण र प्रभावबाट मुक्त र स्वतन्त्र राख्नु महत्त्वपूर्ण थियो । किनभने सूचना र विचारहरूको समूहमा सत्यको प्रभाव स्थापित गर्नका लागि सबै पक्षका विचारहरूको प्रतिनिधित्व आवश्यक हुन्छ । अल्पमत होस् वा बहुमत, निर्धो होस् वा बलियो, सञ्चार माध्यममा सबैको बराबरीको पहुँच हुनुपर्छ भन्ने मान्यता नै प्रेसको उदारवादी सिद्धान्त हो । यो सिद्धान्तलाई अमेरिकी संविधानको पहिलो संशोधनले नागरिकको नैसर्गिक मौलिक अधिकारका रूपमा लिपिबद्ध गरेको छ ।
दोस्रो विश्वयुद्धले विश्वको राजनीतिक नक्सा फेरिएपछि उदाएको साम्यवादले वैचारिक रूपले विभाजित गरेको संसार राजनीतिक हिसाबले पनि दुईवटा ध्रुवमा बाँडिएको हो । एकातिर अमेरिकाले नेतृत्व लिएको पुँजीवादी विश्व व्यवस्था थियो भने अर्कोतिर सोभियत सङ्घले नेतृत्व गरेको कम्युनिस्ट विश्व व्यवस्था ।
प्रेसको उदारवादी सिद्धान्त आफ्नै समस्यामा अल्झिरहेका समयमा यसले अर्को ठूलो चुनौती सामना गर्नुपर्यो । त्यो थियो सञ्चार माध्यमका लागि सोभियत सिद्धान्त । सोभियत सङ्घले ल्याएको प्रेसको सिद्धान्त माक्र्सवादी दर्शनको दृढताले खारिएको थियो । शासनमा एउटा राजनीतिक दलको सर्वोच्चता कायम राख्ने आधारमा तय गरिएको यो नीति आक्रामक थियो । सकारात्मक स्वतन्त्रताको अवधारणाको ठाउँ नकारात्मक स्वतन्त्रताको अवधारणाले लिएको थियो । सरकारबाट पूर्णरूपले नियन्त्रित सोभियत प्रेसले कम्युनिस्ट पार्टीले ‘सत्य’ भनेका विषयलाई मात्रै सत्य भन्थ्यो । माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र माओवादले ठहर्याएका सत्यहरूको सम्प्रेषण तत्कालीन एकाधिकारवादी प्रेसको एकमात्र कर्तव्य थियो । सोभियत संघको विघटनपछि यो नीति स्वत: खारेज भए पनि यसका तुषहरू संसारमा अझै बाँकी छन् ।
अहिले नेपाली सञ्चार क्षेत्रमा जे भइरहेको छ, त्यो कदाचित स्वतन्त्रताप्रेमीका लागि अपेक्षित छैन । सञ्चारमन्त्री र सरकारकै स्वामित्वको सञ्चार माध्यममा कार्यक्रम चलाउने व्यक्ति बीचको सम्बन्ध कस्तो हुनुपर्छ ? यो विचार गर्नुपर्ने विषय हो । के हामी जमानालाई उल्ट्याएर प्रेसका मामिलामा एकाधिकारवादी सिद्धान्तहरू अवलम्बन गर्दैछौं ? समृद्धिको नाराभित्र अन्तरनिहित राजनीतिले हाम्रो लोकतान्त्रिक पद्धतिलाई कहाँ पुर्याउँछ ? त्यो हामीले राम्ररी बुझ्नुपर्ने कुरा हो ।
प्रेस जगतमा अराजकता चलेको छ भने त्यसको समाधान पत्रकार वा सञ्चारकर्मीहरूको घाँटी समातेर हुँदैन । पत्रकारहरूका सबै संघ–संस्था विभाजित र पार्टीमुखी भएको अहिलेको अवस्थामा स्वतन्त्रताको रक्षा गर्नु जति महत्त्वपूर्ण छ, त्यति नै कठिन पनि छ । तर सरकारका सञ्चालकहरूले प्रेस कमजोर भए पनि निसहाय हुँदैन भन्ने बुझ्नुपर्छ । अहिले देखिन थालेको विभाजनले प्रेसको मात्र होइन, सरकारको पनि हित गर्दैन ।
स्रोत : कान्तिपुर राष्ट्रिय दैनिक
मिति : असार ४, २०७५