Freedom Chautary
Freedom Chautary
102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु
/

यस अंग्रेजी वर्ष २०२० मा कोभिड–१९ को महामारी बीच विभिन्न क्षेत्रसंगै सञ्चार क्षेत्रपनि निकै प्रभावित हुन पुग्यो । सञ्चारकर्मीहरुले पनि निकै समस्या र चुनौतीको सामना गर्नुप¥यो । तथापी, पत्रकारहरु महामारीको बीचमा पनि अग्रपंतीमा रहेर आफ्नो काममा जुटिनैरहे । आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस वर्ष पनि नेपाली सञ्चारकर्मीहरुले विभन्न किसिमका अतिक्रमणको सामना गर्नुपर्यो ।

फ्रिडम फोरमको अनुगमन डेस्कको तथ्यांक अनुसार नेपालमा सन् २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ९६ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भए । अघिल्लो वर्ष २०१९ को तुलनामा यो संख्यामा केही कम भएतापनि नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा भने खासै सुधार भएको मान्न सक्ने अवस्था छैन ।

२०२० मा घटेका ९६ वटा प्रेस स्वतन्त्रता विरुद्धका घटनामा १६ पत्रकार महिलासहित १६७ पत्रकारहरु प्रत्यक्ष रुपमा पीडित भए । उल्लेखित घटनामध्ये ५० प्रतिशत भन्दा बढी घटना कोभिड महामारीको कारणले भएको लकडाउनको समयमा घटेका थिए । कुल घटनामध्ये सबैभन्दा बढी प्रेस स्वतन्त्रता हननका घटना बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा घटेका २७ घटनाबाट ३४ जना पत्रकार प्रभावित  भएका थिए । त्यस्तै, प्रदेश २ मा १८ वटा घटनामा ६५ सञ्चारकर्मी प्रभावित बने । यी दुई प्रदेश सञ्चारमाध्यम र पत्रकारहरुको संख्या धेरै रहेका क्षेत्र पनि हुन ।

समाचार सम्प्रेषणको क्रममा कुल १६७ प्रभावित सञ्चारकर्मी मध्ये ७० जना सञ्चारकर्मी विभिन्न छापा माध्यमसंग आवद्ध थिए भने ३९ जना अनलाइन माध्यममा आवद्ध थिए । प्रभावित मध्ये ५८ जना सञ्चारकर्मी समाचार संकलनका क्रममा आक्रमणमा परेका हुन भने ३६ जना समाचार प्रकाशन–प्रशारण पछि भएका  विभिन्न किसिमको आक्रमणमा परेका थिए ।

यो पृष्ठभूमिको चर्चासंगै फ्रिडम चौतारी पडकाष्टको आजको अंकमा हामी एक महत्वपूर्ण विश्लेषण  सामाग्री प्रस्तुत गर्दैछौ । नेपाली मिडियाका लागि सन् २०२० कस्तो रह्यो त  भन्नेबारेमा गरिएको सो विश्लेषण २०७७ पुस २० गते नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ । क्यानडामा प्राध्यापनरत नेपाली बौद्धिक व्यक्तित्व एवं मिडियाका अध्येता श्री भानुभक्त आचार्यले गर्नुभएको सो विश्लेषण सुनौं, उहाँकै आवाजमा :